दमौली : तनहुँमा महिला हिंसाको अवस्था विकराल बन्दै गएको छ। प्राप्त तथ्याङ्क अनुसार अधिकांश महिलाहरु घरेलु हिंसाबाट पीडित छन् ।
अनौपचारिक सेवा केन्द्र (इन्सेक) तनहुँले मङ्गबार सार्वजनिक गरेको तथ्याङ्कमा विभिन्न घटनामध्ये झण्डै आधा महिला हिंसाका घटना छन् ।
सन् २०२३ मा करिब एक वर्षको अवधिमा ८७ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ९५ जना पीडित छन् । जसमध्ये ७४ जना महिला र २१ जना पुरुष पीडित भएको इन्सेक तनहुँका प्रतिनीधि प्रकाशचन्द्र भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार ४३ जना महिलाले घरेलु हिंसा पीडित भएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दर्ता गराएका छन् । भट्टराईले भने, “दर्ता भएका घटनामध्ये सबैभन्दा धेरै महिला हिंसाका छन्, झण्डै आधा सङ्ख्या महिलाले पीडित भएको भन्दै दर्ता गराएका छन् ।’’ धेरैजसो घरेलु हिंसा (कुटपिट, गालीगलौज, चारित्रिक आरोप, स्रोत सुविधाबाट वञ्चित ) का घटनाहरु रहेको उनको भनाई छ।
भट्टराईका अनुसार महिलाविरुद्ध बलात्कार तथा बलात्कार प्रयासका १० वटा घटना भएका छन् । चार जना महिलाको यो अवधिमा हत्या भएको छ । पुरुषहरुप्रतिको मनोवैज्ञानिक डर, त्रास आदिले महिलाहरुले गर्ने प्रतिरोध र न्यायको प्रक्रियामा देखिनुपर्ने सक्रियताको कमीले महिलाहरु बढी हिंसाको दुश्चक्रममा पिल्सिँदै गएको भट्टराईले बताए ।
निमित्त प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले महिलाले नै महिलालाई हिंसा गर्ने गरेकोले घटना बढेको बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले प्रहरीले मानवअधिकार हननका घटनामा शून्य सहनशीलताको नीति लिएको बताए।
उक्त कार्यक्रममा नेपाली कांग्रेस तनहुँको प्रवक्ता हरि वाग्ले, नेकपा एमालेका सचिवालय सदस्य सीताराम सुर्खाली, नेकपा माओवादी केन्द्र तनहुँका कार्यालय सचिव वसन्त दरै, अधिवक्ता सरिता भण्डारी थापा, मानव अधिकार निगरानी समूह तनहुँको सदस्य वसुन्धरा घर्ती, महिला मानवअधिकार रक्षक सन्जालकी जिल्ला सदस्य सिर्जना तिवारी, नेपाल बार एसोसिएसनका सचिव हरिमान श्रेष्ठ, अपाङ अधिकारकर्मी मदन पौडेल उपस्थित रहेको थियो ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?