करापुटारमा फागुन २० गतेदेखि धर्मिक तथा सांस्कृतिक महोत्सव हुने

भोर्लेटार  : लमजुङको मध्यनेपाल नगरपालिका -७ करापुटार स्थित ईशानेश्वर महादेव मन्दिर परिसरमा धार्मिक तथा सांस्कृतिक महोत्सव आगामी फागुन २० गतेदेखि  हुने भएको छ । ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिको आयोजनामा यस पटक धर्मिक तथा सांस्कृतिक महोत्सव महोत्सव  हुन लागेको हो ।

मन्दिर क्षेत्र विकास समितिले सोमवार पत्रकार सम्मेलन गरी परम्परागत कला, सांस्कृतिक औद्योगिक व्यापार कृषि घरेलु हस्ताकला र धार्मिक पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यसहित महोत्सव गर्न लागिएको समितिका अध्यक्ष रामचन्द्र  घिमिरेले जानकारी दिए।

आर्थिक, सामाजिक विकासका साथै स्थानीय उत्पादन, कृषि, धार्मिक, सांस्कृतिक, पर्यटकीयस्थल, उद्योग, व्यापार व्यवसायको सम्भाव्यता अध्ययन गरी प्रवद्र्धन गर्ने उद्देश्यसहित धार्मिक तथा सांस्कृतिक गर्न लागिएको क्लबका अध्यक्ष घिमिरेले बताए ।

दश लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा करीब ५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान छ । महोत्सवमा कूल आम्दानी २० लाख र नाफा १५ लाख ३५ हजार रुपैयाँ हुने अनुमान छ ।

एक सय ५० स्टल हुने महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती हुने आयोजकले जनाएको छ । महोत्सव प्रवेशका लागि एक सय रुपैयाँ कायम गरिएको छ भने विद्यार्थीका लागि ७० रुपैयाँ टिकटदर तोकिएको छ । बृद्धबृद्धा तथा अपाङ्गता भएकाहरुलाई भने निःशुल्क प्रवेश दिइने उनले बताए ।

महोत्सव ईशानेश्वर महादेव मन्दिर परिसरमा फागुन २९ गतेसम्म  सञ्चालन हुनेछ  ।

काठमाडौंको पशूपतिनाथ बाहेक देशको दोश्रो ठुलो र महत्व बोकेको ईशानेश्वर अर्थात सन्तानेश्वर महादेव मन्दीर परिसरमा शीवरात्रीको अवसरमा धार्मिक मेला लाग्ने गर्दछ ।

शिवरात्रीमा सन्तानको ईच्छा राखी ईशानेश्वर महादेव मन्दिर परिसरमा रातभर उभिएर ठाडो बत्ती बाल्ने, सन्तान वा पुत्र लाभ भएपछि मन्दिरमा आई महादेबलाई सन्तान देखाउने, विवाह भएको लामो समयसम्म सन्तान नभएका जोडीहरुका साथै अन्य मनोकामना पनि पूरा हुने विश्वासले ठाडो बत्ती बाल्नेहरु मेलामा आउने गरेको मन्दिर विकास समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?