दमौली : तनहुँमा जिल्ला स्तरीय दादुरा रुबेला रोग विरुद्धको खोप अभियान आज देखि शुरु गर्दैछ। स्वास्थ्य कार्यालय तनहुँले आज फागुन १५ गते देखि २७ गतेसम्म जिल्लाका ८५ वटा वडामा खोप अभियान सञ्चालन गर्न लागेको हो ।
दुई चरणमा संचालन हुने अभियानमा एक नगरपालिका , चार गाउँपालिकामा पहिलो चरणमा र तीन नगरपालिका , दुई गाउँपालिकामा दोस्रो चरणमा कार्यक्रम संचालन गर्ने तय स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकर बाबु अधिकारीले जानकारी दिए ।
जसमा व्यास नगरपालिका, देवघाट, बन्दीपुर, आँबुखैरेनी र म्याग्दे गाउँपालिकामा पहिलो चरणमा हुनेछ। त्यस्तैगरी भानु, शुक्लागण्डकी, भिमाद नगरपालिका , ऋषिङ र घिरिङ गाउँपालिकामा दोस्रो चरणमा अभियान संचालन हुनेछ ।
फागुन १५ देखि १९ सम्म पहिलो चरणमा र फागुन २२ देखि २७ सम्म दोस्रो चरणमा खोप अभियान संचालन हुँदैछ।
जिल्ला भरका २ सय ३८ वटा खोप केन्द्र बाट २ सय ३८ जना स्वास्थ्यकर्मी , ४ सय ७६ जना स्वयंसेवक र दश वटै पालिकामा एक जना विशेषज्ञ डाक्टर सहभागी हुने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख अधिकारीले बताए ।
तनहुँका ९ महिनादेखि ५ वर्ष मुनिकाका करिब २० हजार ८ सय चार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?