दमौलीमा आजदेखि महिला उद्यमी व्यापार प्रदर्शन तथा प्रवर्द्धन मेला सुरु

दमौली : तनहुँको सदरमुकाम दमौलीमा तीन दिने महिला उद्यमी व्यापार प्रदर्शन एवम् प्रवर्द्धन मेला सुरु भएको छ । ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा व्यास नगरपालिका -३ स्थित खुलाचौरमा आज देखि मेला सुरु गरिएको हो  ।

मेला महिला उद्यमी सङ्घ नेपाल, तनहुँद्वारा आयोजित उक्त प्रदर्शनी कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठले गरे ।  कार्यक्रमको उद्घाटन गर्दै उनले मेलाले उत्पादनको बिक्रीको लागि सहज हुने, उद्यमशील बनाउन उत्प्रेरणा जगाउने, बिचौलियाको अन्त्य हुने तथा प्रचारप्रसार हुने हुँदा भविष्यमा बिक्रीको सहज हुने बताए ।

महिलाहरू परापूर्वकालदेखि नै उद्यमशीलतामा जोडिएपनि व्यवस्थित बजारीकरणको अभाव भएकोले अघि बढ्न कठिन भएकाले बजारीकरणमा सहयोग पुर्‍याउन मेला गरिएको महिला उद्यमी नेपाल तनहुँको सभापति निर्मला मल्लले जानकारी दिईन । २७ गतेसम्म संचालन हुने मेलामा ५० वटा स्टल रहेको छ ।

मेलामा होजियारी, हस्तकला, कृषिजन्य सामग्री विक्री वितरणका स्टल रहने संघकी महासचिव सरु श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार तीन दिनसम्म चल्ने मेला अवधिभर करिब ४० हजार दर्शकले अवलोकन गर्नुका साथै करिब ७ देखि ८ लाखसम्म कारोवार हुने अपेक्षा गरिएको छ ।

निःशुल्क प्रवेश गरिएको मेलामा गायिका प्रिती आले कला लम्साल लगायत विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती हुने आयोजकले जनाएको छ ।

मेलामा महिला उद्यमीहरूले उत्पादन गरेका हस्तनिर्मित सामानहरू हस्तकला, ढाकाकपडा, कस्मेटिक सामग्री, दैनिक उपभोग्य सामानहरू, खाद्यान्न सामग्री, साबुन, फिनेल, कृषिजन्य उत्पादन, काष्ठजन्य घर सजावटका सामग्री, परालको गुन्द्री, गुँदको गुन्द्री, विभिन्न आर्टहरू राखिएको छ ।

मेलाको  उद्घाटन समरोहमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला समन्वय समिति तनहुँका उपप्रमुख वासुदेव थापा, व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, पुर्व प्रदेश सभा सदस्य सरिता गुरुङ, डेवाटे विक , महिला उद्यमी संघका केन्द्रीय सदस्य पार्वती रेग्मी , मुस्ताङका अध्यक्ष कुसुम रसाइली बिक, उद्योग वाणिज्य संघ तनहुँका अध्यक्ष बैकुण्ठ मिश्र लगायत राजनीति दलका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?