इलाम : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेले सहकारी पीडितहरूको समस्या समाधान गर्न भने आफू तयार रहेको दोहोर्याए ।
बुधबार इलाममा आयोजित चुनावी सभामा उपप्रधानमन्त्री लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणका भ्रष्टमाथि कारबाही गर्न नसक्ने कांग्रेसले राजीनामा माग्दैमा आफूले दिने अवस्था नरहेको बताए ।
उपप्रधानमन्त्री लामिछानेले कांग्रेसले आफूलाई गलत देखाउन सहकारी गठी प्रकरणलाई उचालेको आरोपसमेत लगाए । कांग्रेसले सहकारी पीडितको समस्या भने समाधान गर्न नचाहेको उनको जिकिर थियो ।
“के मैले कांग्रेसले भनेर राजीनामा दिनुपर्ने ? कांग्रेस, जो नेपाली जनतालाई नक्कली भुटानी बनाएर बेचेको आरोपमा जेल गएर आयो, उसलाई केन्द्रीय नेताबाट निकाल्न सक्दैन । अनि उसले भनेर मैले राजीनामा दिने ? मेरो पार्टीमा त इतिहास छ । प्रमाणित भएको पनि होइन । त्यो अडियो मेरै हो भनेर सांसदले स्वीकार गरिसके त्यसको ७२ घण्टामा कारबाही गर्ने पार्टी सभापति हुँ म । हेक्का रहोस् । म भ्रष्टहरूलाई वरपर लिएर बसेर फ्रन्ट रोमा बसेर अख्तियारमा झन्डा हल्लाउँदै बयानका लागि जाने पार्टीको सभापति होइन,” उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?