कानुनविपरीत विशिष्ट व्यक्तिका लागि खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं : गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरूलाई कानुन बमोजिमबाहेक उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेक अन्य सबै सुरक्षाकर्मीलाई फिर्ता बोलाउन निर्देशन दिएको छ ।

मन्त्रालयले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ र अन्य प्रचलित कानुनविपरीत खटाइएका सुरक्षाकर्मीलाई २४ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिएको हो ।

त्यस्तै, गृहले विशिष्ट व्यक्तिहरूको जिल्ला भ्रमणलगायतका कार्यक्रममा सुरक्षा उपलब्ध गराउँदा कार्यविधिको व्यवस्था पूर्ण पालना गर्न/गराउन र सुरक्षा चुनौती विश्लेषण गरी मन्त्रालयबाट थप निर्देशन भएको अवस्थामा बाहेक कार्यविधि विपरीत अगुवा पछुवा उपलब्ध नगराउन पनि भनेको छ ।

मन्त्रालयले यसरी खटिएका सुरक्षाकर्मी फिर्ता नभएमा खटिने सुरक्षाकर्मीको तलब रोक्का गर्न र फिर्ता नगर्ने पदाधिकारीको नाम सार्वजनिक गर्ने प्रयोजनका लागि मन्त्रालयमा विवरण उपलब्ध गराउन समेत निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?