दमौली :श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बारे सत्तारूढ पाँच दलको साझा धारणा रहेको बताएका छन् ।
सोमबार गृहजिल्ला तनहुँको दमौलीमा रिपोर्टर्स क्लब नेपाल गण्डकी प्रदेशले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सत्तारुढ गठबन्धनमा एमसिसीबारे साझा धारणा बनाउन कार्यदल गठन भईसकेको र छिट्टै साझा धारणा सार्वजनिक गरिने जानकारी दिए ।
मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने ठगी र छलीका घटना अन्त्य गर्न कार्यदल बनाएको बताउनुहुँदै उनले वैदेशिक रोजगार नीति तथा कार्ययोजना पुनरावलोकन गर्न लागिएको बताए । रोजगारीका लागि तुलनात्मक लाभ भएका रोजगार गन्तव्य मुलुकहरूको खोजी गर्ने र उक्त मुलुकमा नेपाली श्रमिकको हकहित संरक्षण र संवद्र्धनका लागि पहल गर्ने उनले बताए ।
श्रम क्षेत्रमा वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन, नीतिगत सुधार गर्न, श्रम कूटनीतिलाई प्रभावकारी बनाउन आफू केन्द्रित रहेको बन्दै देशभित्र रोगजारीको अवसर वृद्धि गर्ने, स्वरोजगारीका लागि प्रोत्साहित गर्ने तथा सम्मानजनक वैदेशिक रोजगारीका लागि विभिन्न सुधारका काम अघि बढाइएको किसानले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?