तनहुँसूरको पर्यटन प्रवर्द्धनका लागि महिला खुल्ला हाफ म्याराथन

दमौली : तनहुँको व्यास नगरपालिका-११ ऐतिहासिकस्थल तनहुँसूरको पर्यटन प्रवर्द्धनका लागि व्यास नगरपालिकाले ‘चौंथो महिला खुल्ला हाफ म्याराथन’ गर्ने भएको छ । यही माघ १६ मा शहीद दिवसको अवसरमा महिला हाफ खुल्ला म्याराथन गर्न लागेको हो ।

व्यास नगरपालिका-३ स्थित धार्मिक क्षेत्र व्यास गुफादेखि व्यास-११ ऐतिहासिकस्थल तनहुँसूरसम्मको २१ किलोमिटर दुरीमा दौड प्रतियोगिताको आयोजना गरेको मंगलवार आयोजित पत्रकार सम्मेलन मार्फत नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।

”विगतमा शहीद दिवसको अवसरमा हामीले मानुङकोट देखि शहीद गाउँ पुलिमाराङ ४४ किमी खुल्ला अल्ट्रा म्याराथन र अन्तरार्ष्ट्रिय नारी दिवसको अवसरमा खुल्ला महिला हाफ म्याराथन गरेको थियो ” उनले नगरप्रमुख न्यौपाने ” यस वर्ष देखि एक/एक वर्षमा आलोपालो गर्ने गरी निर्णय गरेको छ ।”

उनले भने ‘यसरी आयोजना गर्दा महिला र पुरुष दुबै धावकको सम्मान हुने र नगरपालिकालाई पर्न आर्थिक भार पनि कम हुने त्यसैले एक–एक बर्ष आलोपालो गर्ने योजना बनाएका हौं ।’

महिलाहरुलाई सम्मान गर्दै पर्यटन प्रवर्दनमा टेवा पु¥याउने उदेश्यले खुल्ला हाफ म्याराथन आयोजना गरेको उपप्रमुख इन्दिरा दरैले बताइन् ।

तत्कालीन पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्नो जेठो छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका आठ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसरमा राज्य सञ्चालन गरेको इतिहास छ ।

उक्त दुई स्थानलाई जोड्दै आन्तरिक एवं वाह्य पर्यटक प्रवद्र्धन गरी आर्थिकरुपमा सबल बनाउने लक्ष्यका साथ बिगत तीन वर्षदेखि म्याराथन हुँदै आएको छ । उक्त स्थानमा अझै पनि तत्कालीन अवस्थामा प्रयोग गरिएका तोप लगायतका हातहतियार र सेनवंशीय राजदरबार जीर्ण भएर भत्किएको अवस्थामा छन् ।

नगरपालिकाको पर्यटकीय क्षेत्र, विभिन्न जातका होमस्टे, जातीय संस्कृति तथा परम्परागत स्वागत सत्कारको लगायत प्रचार प्रसार र प्रवर्द्धनका लागि भन्दै विगत केहि समय देखि म्याराथन गर्दै आएको छ ।

प्रथम पुरस्कार नगद रु.४१ हजार ८१, द्वितीय पुरस्कार रु. ३१ हजार ८१, तृतीय पुरस्कार रु. २१ हजार ८१ र पाँच जनालाई सान्त्वना पुरस्कार रु. ११ हजार ८१ का प्रदान गरिने नगरपालिकाले जनाएको छ।

व्यास गुफादेखि अनसनचौतारी, जिल्ला प्रहरी कार्यालय पछाडिबाट न्युरोड, भेटघाट चोक हुदै गणेशमान चोक, सत्यबती मावि, मालपोत लाइन, सफासडक हुँदै पृथ्वीराजमार्गको तालघरे, बाराहीरानी मार्गको रानीगाउँ, दरैपधेरा, पराजुलीचोक, पराशर मार्गको बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गङ्गलथोक, पत्यारचोक, चण्डिथान, गद्धीचौतारा हुँदै व्यास–११ स्थित ऐतिहासिक तनहुँसुरदरवार म्याराथनको समापन हुनेछ।

प्रतियोगितामा सहभागी हुन इच्छूक धावकले माघ १४ गते कार्यालय समयभित्र नाम दर्ता गराउन सक्ने बताइएको छ । नाम दर्ता नगरपालिकाको कार्यालयमा उपस्थित भएर तथा कार्यालयको इमेलबाट गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?