नयाँ वर्षमा दमौलीमा होटल व्यवसायी संघको सांगीतिक कार्यक्रम सम्पन्न

दमौली, १ वैशाख — नयाँ वर्ष २०८२ को स्वागतका अवसरमा होटल व्यवसायी संघले आइतबार दमौलीमा भव्य सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ। व्यास नगरपालिका–३ स्थित खुला मैदानमा आयोजित सो कार्यक्रम राति १२ बजेसम्म सञ्चालित भएको थियो।

गण्डकी प्रदेश होटल व्यवसायी संघका उपाध्यक्ष दुर्गाविलास भट्टराईका अनुसार, नयाँ वर्षमा आफ्नै ठाउँमा मनोरञ्जनको व्यवस्था गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। उनले भने, “यहाँका युवायुवतीलाई बाहिर जानु नपरोस् भनेर हामीले स्थानीयस्तरमै मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गर्दै आएका छौं।”

कार्यक्रममा चर्चित कलाकारहरू र्यापर बुद्ध लामा, विवेक लामा, मञ्जु स्यान्ताङ लगायतले आकर्षक प्रस्तुति दिएका थिए। हजारौँ दर्शकहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा दर्शकहरूले कलाकारहरूसँग रमाइलो समय बिताएका थिए।

संघका अध्यक्ष गिरबहादुर थापाले विगतदेखि नै नयाँ वर्षमा स्थानीय युवापुस्तालाई लक्षित गरी सांगीतिक कार्यक्रम गर्दै आएको जानकारी दिए। “हाम्रो उद्देश्य स्थानीय पर्यटन प्रवर्द्धन र सांस्कृतिक चेतना अभिवृद्धि गर्नु हो,” उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?