
दमौली: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफु लोकतन्त्रको लडाई मैदान मै बसेर लड्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँको आज आयोजित पदस्थापन कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले लोकतन्त्रको लडाई लड्न अझै बाकी रहेकाले अधिनायकवादको बिरुद्ध आफु कुनै पनि पद नलिईकन लोकतन्त्रको प्राप्तिको लडाई जीवनभरि लडिरहने बताएका हुन् ।
कांग्रेसलाई भरोसायोग्य पार्टी बनाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिँदै उनले भने, “नेताहरुको व्यवहार, आचरणले राजनीतिप्रति वितृष्णा छ, त्यसलाई अन्त्य गर्नुपर्छ” । कांग्रेसले भ्रष्टाचारका विरुद्धमा खुलेर बोल्न सक्नुपर्ने बताउँदै उनले आज जनताले त्यस्तो कांग्रेसको खोजी गरिरहेको बताए ।
वरिष्ठ नेता पौडेलले बीपीको विचार र सिद्धान्तलाई अनुसरण गर्नुपर्नेमा जोड दिए । “बीपीको विचार र सिद्धान्त कांग्रेसले भुल्दै गएको छ, बीपीको विचारलाई अनुसरण गर्न सक्नुपर्छ”, पौडेलले भने ।
सो अवसरमा कांग्रेसको क्रममा जिल्ला अधिवेशनबाट निर्वाचित सभापति जितप्रकाश आलेलाई निवर्तमान सभापति बैकुण्ठ न्यौपानेले पद हस्तान्तरण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?