काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको साविक नरैनापुर गाउँ विकास समिति कार्यालयका तत्कालीन अध्यक्ष अजुकुमार श्रीवास्तवसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सामाजिक सुरक्षा भत्ता वितरणमा हिनामिना गरेका आरोपमा उनीहरूविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।
२०५७ देखि २०७२ सालसम्म सामाजिक सुरक्षा भत्ता पाउने उमेर नपुगेका १९ जनालाई भत्ता कार्ड उपलब्ध गराएको अख्तियारको आरोप छ । अख्तियारले तत्कालीन गाविस अध्यक्ष श्रीवास्तव, गाविस सचिव सावितराय कुर्मी, अशोककुमार श्रीवास्तवसहित सामाजिक सुरक्षा भत्ता बुझ्नेलाई पनि विपक्षी बनाएको छ ।
उमेर नपुगेकालाई भत्ता दिएर राज्यलाई ६ लाख ५६ हजार ७ सय रुपैयाँ नोक्सानी पुर्याएको ठहर गर्दै अख्तियारले उनीहरूमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले अध्यक्ष श्रीवास्तवसँग ६३ हजार ६ सय, सचिव कुर्मीसँग ६ लाख ५६ हजार र सचिव श्रीवास्तवसँग ५८ हजार रुपैयाँ बिगो दाबी गरेको छ । भत्ता लिनेसँग पनि ३० देखि ६३ हजार रूपैयाँसम्म बिगो दाबी गरेको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?