तनहुँमा उत्साहका साथ जनै पूर्णिमा मनाईयाे

तनहुँ- तागाधारी समुदायको प्रमुख पर्व जनैपूर्णिमा शनिबार तनहुँमा  उत्साहका साथ मनाइएकाे छ। यस अवसरमा बिहानैदेखि देवालय तथा नदी खाेलामा भक्तजनको भीड लागेको थियाे । नदी एवं खाेलामा श्रावणी स्थान गर्न पुराेहित एवं बटुक लगायत विभिन्न व्यक्तिहरू पुगेका थिए ।

दामौलीको व्यास क्षेत्र शिवपाञ्चायन मन्दिरमामा पुराेहितद्वारा जनै अभिमन्त्रित गरिएको थियाे । जनै तथा रक्षा सूत्र पुरोहितले वैदिक मन्त्र पढेर अभिमन्त्रित गरेका थिए । जनै अभिमन्त्रित गर्न विभिन्न व्यक्तिहरू शिवपाञ्चायन मन्दिर पुगेका थिए ।
तागाधारी समुदायका पुरुषहरूले यस दिन आफ्नो पुरानो जनै फेरेर नयाँ जनै धारण गर्ने परम्परा पुरा गरे। त्यस्तै, पुरोहितहरूमार्फत हातमा रक्षाबन्धन (डोरा) बाँधिने परम्परा छ

धार्मिक विश्वासअनुसार येन बद्धो बलिराजा मन्त्र उच्चारण गर्दै बाँधिने रक्षासूत्र नकारात्मक शक्तिबाट सुरक्षा दिने मान्यता छ। पौराणिक कथाअनुसार सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान बनाई दानवराज बलिसमेत बाँधेका थिए, सोही प्रसङ्गबाट रक्षाबन्धनको परम्परा सुरु भएको मानिन्छ। यसैदिन ब्राह्मण, क्षेत्री र वैश्य समुदायका तागाधारीहरूले आफ्नो पुरानो जनै फेर्ने चलन छ।

जनैपूर्णिमाअघि श्रावण शुक्ल चतुर्दशीदेखि व्रत बस्ने तागाधारीहरूले पूर्णिमाको बिहान गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका प्रयोग गरी श्रावणी स्नान गर्छन्। त्यसपछि जौ, तिल र कुशद्वारा कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्यसहित अरुन्धतीलाई तर्पण गर्ने परम्परा रहँदै आएको छ। जनैलाई वैदिक परम्परामा ब्रह्मसूत्र अथवा ‘ज्ञानको धागो’ पनि मानिन्छ।

यस पर्वमा ११ थरी गेडागुडी मिसाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने चलन छ। क्वाँटी खाँदा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्ने, पाचन तन्त्र सफा हुने र वर्षायामभरको चिसो हटाइ शरीरमा ताप सञ्चार हुने आयुर्वेदिक मान्यता छ। धार्मिक विधि, सामाजिक एकता र स्वास्थ्य लाभको सन्देशसहित यो पर्व देशभर उत्साहपूर्वक मनाइँदै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?