शहिद कल्याण खनालको अर्धकद शालिक सभापति देउवाले गरे अनावरण

तनहुँ २७ श्रावण-  नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँको भिमाद नगरपालिका–६ मा निर्माण गरिएको शहिद कल्याण खनालको अर्धकद शालिक अनावरण गरेका छन्।

शहिद खनालको २३औँ स्मृति दिवसको अवसर पारेर शहिद कल्याण खनाल स्मृति प्रतिष्ठानले निर्माण गरेको उक्त शालिक मंगलबार विशेष समारोहबीच अनावरण गरिएको हो। कार्यक्रममा बोल्दै सभापति देउवाले स्वर्गीय खनालको योगदान नेपाली कांग्रेस र प्रजातान्त्रिक आन्दोलनको महत्वपूर्ण हिस्सा भएको स्मरण गर्दै शालिकमार्फत उनको योगदानलाई भावी पुस्तामा प्रेरणा दिने विश्वास व्यक्त गरे।

उक्त कार्यक्रममा सहभागी हुन भिष्मराज आङ्दाङ्वे, कांग्रेसका पुर्व उपसभापति गाेपालमान श्रेष्ठ, पुर्व महामन्त्री डा. शशांक काेईराला, नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य एवं पुर्वमन्त्री शंकर भण्डारी, स्वास्थ्यमन्त्री प्रदिप पाैडेल लगायतले स्वर्गीय खनालकाे पार्टीमा निकै ठुलो याेगदान दिएकाे बताएका थिए ।

नेपाली कांग्रेसका तत्कालीन नेता स्व. कल्याण खनालको २०५९ साल साउन २७ गते तत्कालीन विद्रोही समूहद्वारा हत्या भएको थियो। उनको योगदानको सम्मानस्वरूप भिमादमा अर्धकद शालिक निर्माण गरिएको नेपाली कांग्रेस तनहुँका सभापति जीतप्रकाश आलेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?