श्रीलंकामाथि जिम्बाबेको शानदार जित

जारी टी- २० विश्वकप अन्तर्गत समूह चरणको खेलमा जिम्बाबेले श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ । ब्रायन बेनेटको आक्रामक अर्धशतकको मद्दतमा जिम्बाबेले उत्कृष्ट जित दर्ता गरेको हो ।

विहिबार कोलम्बोमा सम्पन्न यस विश्वकपको ३८औँ खेलमा श्रीलंकाले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो । जवाफमा जिम्बाबेले निर्धारित लक्ष्य तीन बल बाँकी रहँदा १८२ रन बनाउँदै खेल आफ्नो पक्षमा पार्‍यो ।

कप्तान सिकन्दर राजाको नेतृत्वमा जिम्बाबेले समूह चरण अपराजित रहँदै समाप्त गरेको छ । चारमध्ये तीन खेलमा जित हासिल गरेको जिम्बाबेको एक खेल नतिजाविहीन बनेको थियो । सात अंकसहित जिम्बाबे समूह ‘बी’ को शीर्ष स्थानमा पुगेको छ ।

पराजयसँगै घरेलु टोली श्रीलंका दोस्रो स्थानमा झरेको छ । श्रीलंका ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमा छ। समूह ‘बी’ बाट जिम्बाबे र श्रीलंका दुवै टोलीले यसअघि नै सुपर ८ मा स्थान बनाइसकेका छन्।

यसै समूहबाट आयरल्यान्ड, अष्ट्रेलिया र ओमानको यात्रा भने समूह चरणमै टुंगिएको छ । समूहको अन्तिम खेल शुक्रबार अष्ट्रेलिया र ओमानबीच हुने तालिका रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?