काठमाण्डौ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्नका लागि प्रहरीको टोली भक्तपुरको गुण्डु पुगेको छ । जरुरी पक्राउ पूर्जीसहित प्रहरीको टोली बिहान गुण्डु पुगेको हो ।
ओली निवास वरपर अहिले ठूलो संख्यामा प्रहरीसँगै एमालेका नेता कार्यकर्ताहरु पनि जम्मा भएका छन् । मन्त्रिपरिषदको निर्णयअनुसार जाँचबुझ आयोगका प्रतिवेदन कार्यान्वयनका विषयमा गृहमन्त्री सुधन गुरुङसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरुले रातभर कानुनी परामर्श गरेपछि ओलीलाई पक्राउ गर्न लागिएको हो ।
हिजो बसेको पहिलो मन्त्रिपरिषद बैठकले राजनीतिक व्यक्तिको हकमा जाँचबुझ आयोगको सिफारिस तत्कालै कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो । त्यसलगत्तै गृहमन्त्री गुरुङले सिंहदरबारमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालसँग छलफल गरेका थिए ।
गृहमन्त्री गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई जसरी पनि पक्राउ गर्न निर्देशन दिएपछि प्रहरीले त्यसका लागि लिखित आदेश मागेको थियो । त्यसपछि राति अबेर कानुनसचिवसहितको छलफल भएको थियो ।
जाँचबुझ आयोगको प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक र आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा कारबाही सिफारिस गरेको छ । हिजोको मन्त्रिपरिषदले सुरक्षा निकायका हकमा अध्ययन समिति गठन गर्ने र अरुको हकमा तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
यसैबीच सरकारले आफ्ना अध्यक्ष केपी शर्मा ओलीलाई धरपकड गर्न खोजेको भन्दै एमालेका भ्रातृ संगठनहरुले विरोध जनाएका छन् । सुरक्षाकर्मीको हकमा छुट्टै समिति बनाएर अनुसन्धान गर्ने तर राजनीतिक नेतृत्वको हकमा सिफारिस कार्यान्वयन गर्नुले सरकार विपक्षीप्रति पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको ठहर हुने उनीहरूको भनाइ छ । न्यायिक सिद्धान्त विपरीत हुने कुनै किसिमको धरपकड मान्य नहुने र त्यसले गम्भीर परिणाम निम्त्याउने चेतावनी एमालेका भ्रातृ संगठनले दिएका छन् ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?