सरकारले भोटेकोशी बाढीको १३औँ दिन भदौ २२ गते राष्ट्रिय शोकको घोषणा गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले रसुवा बाढीका कारण मृत्यु भएका नागरिकहरुको सम्मानस्वरुप बाढी गएको १३ औँ दिनको तिथिका दिन भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । उक्त दिन देश विदेशका सरकारी कार्यालयका राष्ट्रिय झण्डा आधा झुकाइने सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।
त्यसैगरी, भदौ २३ गते जेन–जी सहिद दिवसमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको पनि उनले जानकारी दिए । एक वर्षअघि २०८२ भदौ २३ मा जेनजी आन्दोलन आन्दोलन भएको थियो ।
त्यस्तै, आजकै बैठकले एसियाली विकास बैंकबाट भोटेकोशी बाढी प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपतकालीन राहत तथा उद्धार कार्यको लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर सहायता स्वीकार गर्ने र बाढीबाट प्रभावित उद्योग, व्यापार व्यवसायलाई तत्काल सुचारु गर्न एकीकृत व्यावसायिक पुनस्थापन योजना अन्तर्गत राहत, कर तथा महसुल छुट लगायत अन्य सुविधा तथा सहुलियत प्रदान गर्ने निर्णय पनि गरेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत २५ हजार मेट्रिक टन बराबरको चिनी १ प्रतिशत भन्सार महसुल लिई आयात गर्न स्वीकृत प्रदान गर्ने र नेपाल प्रशासन सेवा समूहका नारायणप्रसाद भट्टलाई सचिवमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी प्रदेशको मुख्य सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको पनि उनले जानकारी दिए ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?