गण्डकी प्रदेशमा स्मार्ट लकडाउन हुने

पोखरा : गण्डकी प्रदेश सरकारले कोरोना  संक्रमण रोकथाम, नियन्त्रण गर्न स्मार्ट लकडाउन गर्ने भएको छ।मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय निर्देशक समितिको सोमबार बसेको बैठकले कोभिड संक्रमण कार्यविधि, २०७८ कार्यान्वयनलाई थप प्रभावकारी बनाउन जिल्ला संकट व्यवस्थापन समिति र स्थानीय तहहरूलाई निर्देशन दिने निर्णय गरेको हो ।

यसअघि नेपाल सरकारले  कोरोनाको दोस्रो लहरका बेलामा स्मार्ट लकडाउन प्रयोगमा ल्याएको थियो । मुख्यमन्त्री पोखरेलको संयोजकत्वमा बसेको बैठकले प्रदेशमा सबै प्रकारका भेला, मेला, महोत्सव नगर्न नगराउन आह्वान गरेको छ । बैठकले माघ ७ गतेदेखि सार्वजनिक कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्क प्रवेश गर्न कोभिड–१९ विरुद्धको खोपको कार्ड अनिवार्य गर्ने निर्णय गरेको छ ।

बैठकले सार्वजनिक सवारी साधनमा यात्रा गर्ने चालक, सहयोगी र यात्रुहरूले पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने उल्लेख गरेको छ । ‘संक्रमण दर बढ्दै गएको अवस्थामा हिँडडुल गर्दा वा स्वास्थ्यका मापदण्डहरूको पूर्णरुपमा पालना गर्ने सबैमा अनुरोध गर्ने,’ बैठकको निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहाकार भरत कोइराले जानकारी दिनुभयो ।

बैठकले प्रदेशवासीलाई जनचेतना अभिवृद्धि गर्न, प्रदेशमा उपकरणको व्यवस्थापन छिटो छरितो माध्यबाट खरिद तथा आपूर्ति व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।

‘प्रदेशमा प्रवेश गर्ने जिल्ला नाका, मुख्य नाकाहरू तनहुँको आँबुखैंरेनी, स्याङ्जाको रामदी, नवलपरासी पूर्वको विनय त्रिवेणीमा निगरानी गर्ने,’ निर्णयमा भनिएको छ, ‘सार्वजनिक स्थलहरूमा निःशुल्क एन्टिजेन परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउनु साथै पोजेटिभ देखिएकालाई संस्थागत आइसोलेसन होल्डीङ सेन्टरका सम्बन्धित जिल्ला संकट व्यवस्थापन समितिले समन्वय गर्ने व्यवस्था मिलाउने ।’ प्रदेशभर रहेका आइसोलेसन केन्द्रलाई क्रियाशील बनाउने बैठकले निर्णय गरेको छ ।

रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?