देवघाटमा माघे संक्रान्ति मेला सुरु

तनहुँ : जिल्लाको देवघाटमा रहेको पवित्र तीर्थस्थल देवघाटधामस्थित बेनीमा शुक्रबार बिहान बाँसको लिङ्गो गाडेर माघे संक्रान्ति मेलाको शुभारम्भ गरिएको छ ।गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरिसहित सन्त-महन्त, बटुक लगायत स्थानीयको उपस्थितिमा बाँसको लिंगो ठड्याएर मेलाको शुभारम्भ गरिएको हो ।

देवघाटधामको बेनीमा बाँसको लिङ्गो गाडेसँगै तनहुँ, चितवन र नवलपरासीको संगमस्थल देवघाटमा माघे संक्रान्ति मेला सुरु भएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताए । उनले भने, ‘बाँसको लिङ्गो गाड्नुअघि गलेश्वर आश्रममा भेला भएर विधिवत्रुपमा लिङ्गोसहित शोभायात्रा बेनीमा पुगेको थियो ।’

देवघाटमा विधिवत्रुपमा माघे संक्रान्ति मेलाको शुभारम्भ गरिए पनि बाहिरबाट आउने भक्तजनलाई भने प्रवेशमा रोक लगाइएको छ । ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ भनिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?