पोखरा रंगशालामा जारी आहा रारा गोल्डकपका सेमिफाइनलदेखि टिकट खुला गरेको छ । सेमिफाइनल खेलहरू बुधबारबाट सुरु हुँदैछन् ।कोरोना संक्रमणदर बढ्दै जाँदा आयोजना भएको २०औं आहा रारा गोल्डकपले क्वार्टरफाइनल खेलसम्म दर्शकबिना गरेको थियो ।
जिल्ला प्रशासन कास्कीले स्वास्थ्य मापदण्ड पालना गर्दै प्याराफिटको कूल क्षमताको एक तिहाइ दर्शकमात्रै राखेर खेल सञ्चालन गर्न माघ ३ गते नै आदेश जारी गरिसकेको थियो । सोही आदेशबमोजिम सहाराले दर्शकको उपस्थितिमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।पोखरा रंगशालामा बनिरहेको फुटबल प्याराफिटको क्षमता हाल १६ हजार ५०० सिट क्षमता छ । उक्त सिट क्षमताको एक तिहाइ दर्शकले ३०० रुपैयाँमा टिकट काटेर खेल हेर्न आक्ने, तर खोप कार्ड अनिवार्य गरिएको आयोजक सहारा क्लबले जानकारी दिए । दर्शकले टिकट भने अनलाइनमार्फत् अग्रिम बुकिङ गर्नु पर्नेछ ।
प्रतियोगिताअन्तर्गत मंगलबारदेखि क्वार्टरफाइनलका खेल सकिएका छन् । अन्तिम क्वार्टरफाइनल खेलमा पाँच पटकको विजेता थ्रीस्टारलाई १-० ले हराउँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि एपिएफ, मच्छिन्द्र र मनाङ मर्स्याङ्दी सेमिफाइनल यात्रा तय गरिसकेका छन् ।बुधबारदेखि सुरु हुने पहिलो सेमिफाइनल खेलमा एपिएफ र मच्छिन्द्र तथा बिहीबारको अन्तिम सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । माघ १५ गते सकिने प्रतियोगिता विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?