आँबुखैरेनी गाउँपालिकामा इजलास कक्ष सञ्चालन

आँबुखैरेनी गाउँपालिकाले न्याय सम्पादन कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने उद्देश्यले न्यायिक इजलास कक्ष सञ्चालनमा ल्याएको छ ।

न्यायिक समितिको कार्य सम्पादन सहजताका लागि इजलास कक्ष स्थापना गरेको हो ।न्यायिक समितिमा अलग्गै इजलास कक्ष स्थापना गर्ने कानुनी प्रावधान अनुरुप प्रभावकारी रुपमा न्याय निरुपणका लागि छुट्टै इजलास कक्ष स्थापना गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको पुरानो भवनमा इजलास कक्षको शुक्रबार एक औपचारिक कार्यक्रमका बीच उक्त गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले उद्घाटन गरे ।उनले गाउँपालिका भित्रका नागरिकलाई सहज रुपमा न्याय दिन इजलास निर्माण गरिएको बताए । उनका अनुसार गाउँपालिकाले इजलासका लागि ५ लाख रुपियाँ विनियोजन गरेर कक्ष सञ्चालन गरेको उनको भनाई छ ।न्यायिक समितिको कार्यसम्पादन निष्पक्ष हुनुपर्ने भएकाले इजलासमा रहेकाले पनि निष्पक्ष भएर काम गर्न आग्रह गरे ।

यसैगरी गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिकी संयोजक पुष्पादेवी श्रेष्ठले इजलास कक्ष नहुँदा यस अगाडी आफ्नो कार्यकक्षमै बसेर न्यायिक समितिको कार्यसम्पादन गर्दै आएको तर अहिले इजलास कक्ष स्थापना हुँदा कार्य सम्पादनमा सहज हुने विश्वास व्यक्त गरिन ।चालु आर्थिक वर्षको छ महिनाको अवधिमा न्यायिक समितिमा आठ वटा मुद्दा दर्ता भएकामा पाँच वटा मुद्दा फैसला भइसकेको र तीन वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेको श्रेष्ठले बताइन्।

स्थानीय शासन ऐन २०७४ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा चार जना सदस्य र एक जना परामर्शदाता रहेको छन् ।उक्त गाउँपालिकामा ६ वटै वड़ा मा मेलमिलाप केन्द्र स्थापना गरिसकेको छ ।वडास्तरमा हुने विवादका घटना वडाबाटै मिलापत्र हुन नसकेका मुद्दा गाउँपालिकाको न्यायिक समितिसम्म आउने र गाउँपालिकाको न्यायिक समितिबाट किनारा लागाउन नसकेको मुद्दाहरु अदालती प्रक्रियाका लागि समितिले पठाउन सक्छन् ।

उक्त  कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्याल वडाध्यक्षहरु, कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नारायण प्रस ढकालले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?