गृह मन्त्रालयमा आज भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री खाँण, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दीलेन्द्र बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृह सचिव टेकनारायण पाण्डे, कानुन सचिव उदयराज सापकोटा तथा नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्मा सहभागी थियो ।
वार्तामा २०७७ फागुन २० गते नेपाल सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।“सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा सौहार्दपूर्ण तरिकाले छलफल भयो”, प्रवक्ता पोखरेलले भने ।
बैठकपछि नेकपा प्रवक्ता विश्वकर्माले तीन बुँदे सहमति कार्यान्वयनको टाइमलाइन वार्तामा बनाइएको जानकारी दिएको छ ।“आजको वार्तामा तीन बुँदे सहमति कार्यान्वयनको टाइमलाइन बनेको छ । हाम्रो माग कार्यान्वयनमा सरकार सकारात्मक देखिएको छ । केही विषय टुङ्गिएका पनि छन्, केही टुङ्गिने क्रममा छन् । आशा छ छिटै निष्कर्ष निस्केला”, प्रवक्ता विश्वकर्माले बताए ।
योभन्दा अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति कार्यान्वयन गर्न गृहमन्त्री खाँणले निरन्तर वार्ता गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?