तनहुँमा आज देखि भौतिक उपस्थितिमै पठनपाठन

दमौली : कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका तनहुँको शिक्षण संस्था आज आइतबारदेखि भौतिक उपस्थितिमै विद्यालय सञ्चालनमा आएका छन् ।

आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी नियमित दैनिक रुपमा नै विद्यालय जानेछन् भने १२ वर्षभन्दा मुनिका बालबालिकालाई आलोपालो गरी पठनपाठन गराउनु पर्ने सरकारको निर्णय छ ।

१२ वर्षमुनिका बालबालिकालाई पनि खोप दिन तयारी भइरहेको सरकारले जनाएको छ । गएको हप्ता कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी आजदेखि खुलाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्रालयलाई सिफारिस गरेको थियो । त्यही सिफारिसअनुसार विद्यालय खुल्न लागेका हुन् ।

यसैबीच, आजदेखि खेलकुद, रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै खुल्दै छन् । कोरोना भाइरसको जोखिम केही कम भएसँगै बन्द भएका विद्यालय र व्यापार व्यवसाय खुल्न लागेका हुन् । कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हल पनि आजैदेखि खुल्ला हुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?