दमौलीमा युट्युबर र पल शाहका समर्थकहरुको भीड ,प्रहरी हैरान

दमौली : तनहुँको सदरमुकाम दमौली  बजारका होटलहरू पाहुनाले भरिएका छन्। नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा कलाकार पल शाह पक्राउ परेपछि उनका आफन्त, समर्थक, सञ्चारकर्मी र युट्युब च्यानल सञ्चालकहरूको भीड दमौली केन्द्रित भएको छ ।

बजार र जिल्ला प्रहरी कार्यालय अगाडिको सडकमा दिनभर क्यामरा बोकेकाहरू देखिन्छन्। पक्राउ पुर्जी जारी भएपछि आफैं आएका शाह गत आइतबारदेखि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन्।

नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा कारबाहीका लागि उनीविरुद्ध गत बिहीबार जाहेरी दर्ता भएको थियो। जिल्ला अदालतले ७ दिनको न्यायिक हिरासतमा राख्न दिएको अनुमतिपछि अनुसन्धान भइरहेको डीएसपी युवराज खड्काले बताए।

शाहलाई भेट्ने भन्दै उनका आफन्त, समर्थक र युट्युबरहरूको दिनहुँ भीड लाग्न थालेपछि प्रहरी हैरान छ। भीडले गत सोमबार शाहको पक्षमा नाराबाजी नै गरेको थियो। नाराबाजी गर्न लगाउँदै भिडियो खिच्नेहरूको भीड देखेर दमौलीका स्थानीय पनि हैरान छन्।

कार्यालय परिसरमा अनधिकृत प्रवेश रोक्न प्रहरीले जनशक्ति थपेको छ भने भीड छेक्न मंगलबारदेखि मूल गेट अगाडि बाँस, ब्यारिकेट र डोरी लगाएको छ। आफन्त र कानुन व्यवसायीबाहेक अरूलाई शाहसँग भेटका लागि प्रवेश नदिइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?