एनआरएनए पूर्वअध्यक्ष घले र हिराचनले बोलाए भेला

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्षहरु शेष घले र देवमान हिराचनले गैरआवासीय नेपाली संघमा जारी गम्भीर संकट आइलागेको भन्दै भेला बोलाएका छन् । भेलामा गैर आवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद (एनसीसी) का अध्यक्षहरुलाई निम्ता गरिएको छ ।

गत २ मार्चमा विधान विपरीत बोलाइएको अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) को बैठकले संरक्षक परिषद र उच्च स्तरीय समिति विघटन गर्ने तथा ७० प्रतिशत सदस्यहरु रहेका अमेरिका, युके, अस्ट्रेलिया, क्यानाडा र जापानका एनसीसीहरु भंग गरी पुनर्गठन गर्ने निर्णय गरेपछि संस्थाका प्रमुख संरक्षक पनि रहेका डा. घले र संरक्षक हिराचनले बैठक बोलाएका हुन् ।

एनआरएनएको नेतृत्व भने विवाद समाधानका लागि दिएका सुझाव पालना नगर्ने, सहमतिका आधारमा दशौं महाधिवेशन नगर्ने र संस्था कब्जा गर्ने अभियानमा केन्द्रित रहेको उनीहरुको भनाइ छ ।

‘संस्थालाई दुर्घटनाबाट बचाउन तपाईं हामी सबैले एउटा कठोर कदम चाल्नुपर्ने अवस्था आएको छ’, विज्ञप्तिमा भनिएको छ । तर त्यस्तो कदम के हुन सक्छ भन्ने चाहिं खुलाइएको छैन । बैठक आइतबार, ६ मार्च (नेपालको समय अनुसार अपरान्ह ५ बजे) भर्चुअल माध्यमबाट बस्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?