माओवादी केन्द्रकाे केन्द्रीय समिति बैठक बस्दै

काठमाण्डाै :माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ । अस्ति शुक्रवारदेखि सुरु भएको बैठक आज पनि बस्न लागेको हो ।आजको बैठकमा पदाधिकारी चयनलगायतका साङ्गठानिक विषयमा छलफल हुने स्रोतले बताए  । राष्ट्रिय सभागृहमा शुक्रवार बसेको बैठकमा एमसीसीलगायतका समसामयिक  विषयमा  छलफल भएको थियो ।

माओवादीको आठौँ महाधिवेशनले २३६ जना केन्द्रीय सदस्य चयन गरे पनि पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो गठन गर्न सकेको छैन । विधानअनुसार २९९ केन्द्रीय समिति हुने व्यवस्था छ, जसमा ६३ जना मनोनीत गर्न बाँकी छ । जारी केन्द्रीय समिति बैठकले स्थायी र पोलिटब्युरो गठन र केही केन्द्रीय सदस्य मनोनीत गर्नेछ ।

विधानअनुसार पार्टीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ । गएको पुस १९ गतेको केन्द्रीय समिति बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष चयन गरेको थियो । तर त्यसयता माओवादीले अन्य पदाधिकारी चयन गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?