आगलागी पीडितलाई राहत उपलब्ध गराउन कांग्रेस र एमालेको माग

दमौली : व्यास नगरपालिका–४ मा आइतबार भएको आगलागीबाट पीडित भएकालाई राहत उपलब्ध गराउन नेपाली कांग्रेस र नेकपा (एमाले) ले सरकारसँग माग गरेका छन्।
आगलागीबाट घर क्षति भएकालाई उचित राहत उपलब्ध गराउन ती दुई पार्टीले सरकारसँग माग गरेका हुन्।

कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालद्वारा जारी विज्ञप्तिमा भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्स र त्यस आसपासका अन्य व्यावसायिक तथा घरमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उचित राहतको माग गरिएको छ।

यसैगरी एमाले तनहुँले आगलागीबाट पीडित भएकालाई राहत उपलब्ध गराउन माग गरेको छ। एमाले जिल्ला उपसचिव प्रदीपराज अधिकारीले दुःखको घडीमा सहानुभूति प्रकट गर्दै क्षतिको यकिन मूल्याङ्कन गरी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

आइतबार बिहान १० बजेदेखि लागेको आगो दिउँसो २ बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो। आगलागीबाट करोडौँ क्षति भएको प्रारम्भिक अनुमान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?