दमाैली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा आइतबार दिउँसो बस र टाटा सुमो एकआपसमा ठोक्किँदाको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकालाई थप उपचारका लागि चितवन पठाइएकामा तीन जनाको मृत्यु भएको जानकारी प्राप्त भएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।
मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको ग ३ च ६०१२ नम्बरको टाटा सुमो एक आपसमा ठक्कर खाँदा सात जना घाइते भएका हुन् । घाइते ९ जनाको पोखरामा उपचार भईरहको र अन्यको विवरण केहि समयमा आउने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले बताए ।
दुर्घटनामा घाइते हुनेहरुमा शुक्लागण्डकी नगरपालिका बस्ने ८० वर्षीय दामोदर पुरी, नामथर वतन नखुलेकी ३३ वर्षीया महिला, नामथर वतन नखुलेका ६० वर्षीय पुरुष, नामथर वतन नखुलेका ५० वर्षीय पुरुष, आँबुखैरेनी गाउँपालिका–४ बस्ने २८ वर्षीया देविका थाप मगर, सोही ठाउँका १८ वर्षीया आरती खवास, गोरखाको गण्डकी गाउँपालिका–१ बस्ने ३८ वर्षीया डिनमया नेपाली रहेको प्रहरीले जनाएको छ ।
यसैगरी आँबुखैरेनी गाउँपालिका–३ बस्ने ३३ वर्षीया हिरा बसेल, शुक्लागण्डकी नगरपालिका बस्ने ३३ वर्षीय जितेन्द्र शाही, सोही ठाउँ बस्ने ५२ वर्षीया गोमा शाही, ४१ वर्षीया दिनु शाही, कास्कीको पोखरा महानगरपालिका बस्ने ५२ वर्षीय राम शाही र ५२ वर्षीया ज्ञानु शाही घाइते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?