नेपालमा नयाँ भेरिएन्टको कोरोना संक्रमण फैलिएको पुष्टि

नेपालमा काेभिड–१९ (काेराेना भाइरस) काे थप नयाँ भेरिएन्ट पत्ता लागेकाे छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति निकालेर नेपालमा काेराेना भाइरसकाे थप नयाँ भेरिएन्ट पत्ता लागेको जानकारी गराएको हो ।

नेपालमा अहिलेसम्म कोरोनाका तीन किसिमको भेटिएन्ट पुष्टि भएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट ३५ नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गरिएको थियो ।भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङको मंगलबार प्राप्त नजिताअनुसार ९७ प्रतिशत अर्थात ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात एउटा नमुनामा बी १.६१७.२ पुष्टि भएको छ । यो दुबै भेरियन्ट भारतमा पहिलो पटक भेटिएको थियो ।यो नयाँ भाइरसले सबै उमेर समूहमा धेरै सङ्क्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरूले पुष्टि गरेकोसमेत मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । नयाँ भेरिएन्ट पुष्टि भएसँगै अब थप स्वास्थ्य मापदण्डमा कडाइ गर्नुपर्ने भएको र यसमा सबैले आ–आफ्नो भूमिका बढाउन मन्त्रालयका सह–प्रवक्ता अधिकारीले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?