आज फागु पूर्णिमा अर्थात् होली हर्षोल्लासका साथ मनाइँदै

दमौली : आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई तनहुँको दमौली लगायत, राजधानी काठमाडौं सहित देशका पहाडी भागहरुमा आज होली पर्व हर्षोल्सापूर्वक मनाइदैछ । नेपालका सबै जात जातिले मनाउने होली पर्व आज पहाडी भेगमा मनाउने गरिन्छ भने भोलि तराईका क्षेत्रहरुमा हर्षोल्लासपूर्वक होली मनाइन्छ ।

पहाडी र तराइ क्षेत्रमा दुई दिनसम्म मनाइने होली पर्वका अवसरमा साथी भाइ तथा इष्टमित्रहरु एकठाउँमा जम्मा भएर रंगहरुसँग खेल्दै रमाइलो गर्ने प्रचलन छ ।

त्रेतायुगमा हिरन्यकश्यपु नामक दानवले आफ्नै छोरा भगवान भक्त प्रल्हादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए । भगवान विष्णुको प्रतापले प्रल्हादलाई आगोले केही नगरे पनि आगोले नजल्ने बरदान पाएकी होलिका भनें सो अग्निमा जलेर नष्ट भएको किम्बदन्ती होली पर्वसँग जोडिएको छ ।

हिन्दुहरुले यसलाई महत्वपूर्ण चाडका रुपमा लिने गरेको हुदा होलीमा रङ्गहरूको टीका लगाइ मनाउने गरिन्छ ।

केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलोरूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । फागु पर्वको अघिल्लो दिन पनि दमौलीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन ।

फागु पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?