
दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले कांग्रेस, एमाले र माओवादीलाई भोट दिएर यिनीहरुले देश बनाउन नसक्ने बताएका छन्।
राप्रपा तनहुँले बिहीबार दमौलीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै कांग्रेस, एमाले र माओवादीलाई साँढेसँग तुलना गर्दै साँढेबाट दूध नआउने लिङदेनले टिप्पणी गरे।
‘साँढेको टाँगमुनि बाल्टी थापेर दूध पाइँदैन। साँढेको टाँगमुनि बाल्टी लिएर गएर साँढेले दूध दिएन भनेर साँढेलाई सुम्सुम्याएर दूध दिन्छ र? पिटे पनि दूध दिँदैन। किनभने साँढेको धर्म नै दूध दिने होइन। आज यी पार्टीहरु त्यही भए। यिनीहरुलाई जति भोट दिए पनि देश बनाउँदैनन्,’ लिङदेनको आरोप छ।
‘अहिलेका दलबाट विकास हुन्छ भन्नु पनि उही हो ।’यिनहरुलाई भोट दिएर देश नबन्ने लिङदेनको दावी छ। राप्रपाले ५ वर्षमात्रै देशको नेतृत्व पाए देशको मुहार फेर्ने उनले सुनाए।
‘आउने चुनावमा जानिजानि यस्ता भ्रष्ट नेताहरुलाई भोट नदिनुस् भन्न आएको हो। तपाईँले खुकुरी, तरबार चलाएको भन्दा ठूलो सजाय त्यही हुन्छ। गन्दा थाहा पाउन्, बर्बाद भएछ। हामी सामान्य नागरिक भएर सोचौं, कुनै दलको व्यक्ति भएर होइन,’ उनले भने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?