तनहुँमा ८१ हजार भन्दाबढी बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइँदै

दमौली :  तनहुँमा टाइफाइडविरुद्ध खोप अभियान २५ गते देखि सुरु गरिने भएको  छ । स्वास्थ्य कार्यालय तनहुँले २५  गते शुक्रवार देखि बैशाख ३ गतेसम्म टाइडफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिएको छ ।

तनहुँमा दुई चरण गरि अभियान सुरु हुन लागेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । जिल्लाको व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा चैत २५ गतेदेखि चैत २८ गतेसम्म खोप अभियान संचालन हुनेछ । यस्तै शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र भानु नगरपालिकामा   चैत ३० गतेदेखि वैशाख ३ गतेसम्म सो खोप अभियान हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख अधिकारीले विद्यार्थीको परीक्षालाई मध्यनजर गरेर जिल्लाका दशवटै पालिकाहरुमा चैत २५  गते देखि दुई  चरणमा  खोप अभियान चलाउने निर्णय गरेको बताए ।

दश स्थानीय तह रहेको जिल्लामा ४६९ वटा खोप केन्द्र निर्धारण गरेर एकैसाथ १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

टाइफाइड रोगको सङ्क्रमण र यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्न नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको नीतिअनुसार जिल्लाका दशवटै स्थानीय तहमा एकैसाथ खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।

जिल्लामा १५ महिनादेखि ४ वर्षसम्मका १३ हजार ६७७ जना बालबालिका रहेका छन् भने ५ वर्षदेखि १५ वर्षसम्मका ६९ हजार ६९७ जना बालबालिका रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?