स्थानीय तह निर्वाचन : तनहुँमा सत्ता गठबन्धनबीच सहमति जुटेन

दमौली :  आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उमेदवार चयनका लागि सत्ता गठबन्धनमा अझै सहमति जुट्न सकेको छैन । उम्मेदवारी दर्ता गर्ने दिन नजिकिए पनि तनहुँमा सत्ता गठबन्धनमा अझै सहमति जुट्न नसकेको हो ।

सत्तारुढ गठबन्धनको चुनावी तालमेलबारे सहमति जुटाउन पटक–पटक बैठक बसे पनि सहमति जुट्न नसकेको नेताहरू बताउँछन् । जिल्लास्तरमा गठबन्धनका नेताबीचमा सहमति हुन नसकेपछि सहमतिको जिम्मा केन्द्रलाई नै दिएको नेपाली कांग्रेसका एक नेताले बताए ।

उनले भने, “सहमतिका लागि पटक–पटक बैठक राखिए पनि सहमति जुट्न सकेन । हामीले सहमति गर्न नसक्दा केन्द्रलाई जिम्मा दिएका छौँ, केन्द्रबाट नयाँ परिपत्र नआएसम्म जिल्लामा गठबन्धन हुने अवस्था छैन ।” सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादीको आ–आफ्नै अडानका कारण सहमति जुट्न नसकेको उनको भनाइ छ ।

उनले भने, “हाम्रो तर्फबाट सहमतिका लागि कुनै समस्या छैन,  एकीकृत समाजवादी र माओवादीका केही साथीका कारण समस्या देखिएको हो, अब केन्द्रले समाधान गरेर गठबन्धन हुन्छ ।

एसलाई भिमाद छाड्न कांग्रेस तयार देखिएको छ । तर नेकपा एसले भानु र शुक्लागण्डकीको मेयर माग गरेको छ। कांग्रेसले आफ्नो भाग सुरक्षित गरेर बॉकीमा भागबण्डा गर्नका लागि माओवादी र नेकपा एसलाई आग्रह गरेको छ।

एक माओवादी नेताका अनुसार तनहुँमा नेकपा एसले माओवादी भन्दा बढी भाग खोजेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?