तनहुँमा निषेधाज्ञा उल्लङ्घन गर्नेलाई पाँच लाखसम्म जरिवाना

तनहुँमा कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञा थप कडाइ हुने भएको छ ।

जिल्लामा निषेधाज्ञा उल्लङ्घन गरे पाँच लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ ।  निषेधाज्ञाको समयमा कसैले बाधा अवरोध गरे एक लाख रुपैयाँ देखि पाँच लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

बिहिबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै उल्लङ्घन गर्नेलाई दण्ड र जरिवाना समेत कार्यन्वयन गर्ने निर्णय भएको हो । नेपाल सरकारको कोभिड व्यवस्थापन सम्बन्धी २०७८ मा जारी गरेका अध्यादेशअनुसार कोही कसैले मापदण्ड पालना नगरेमा नगद, कैद वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।

साथै मास्क नलगाई सार्वजनिक स्थानमा आवतजावत गरेमा पटकैपिच्छे एक सय रुपैयाँ, मानिसको आवतजावतमा रोक लगाइएको वा नियन्त्रणमा गरिएका अवस्थामा सोको उल्लङ्घन गर्नेलाई पटकैपिच्छे दुई सय रुपैयाँ, सवारी साधनको आवतजावतमा रोक लगाएको अवस्थामा सम्बन्धित अधिकारीको अनुमति बिना वा सुरक्षाकर्मीलाई सूचना नदिई वा बिरामी ओसारपसार गर्ने अवस्थामा बाहेक सवारी साधन चलाएमा पटकैपिच्छे दुई पाङ्ग्रे सवारी साधन भए दुई हजार रुपैयाँ र अन्य सवारी भए पाँच हजार जरीवाना गरिने प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?