
तनहुँ : स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले तनहुँका सभापति जित प्रकाश आलेले स्वतन्त्र उम्मेदवारी दिने नेता तथा कार्यकर्तालाई आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ।
नेपाली काँग्रेस तनहुँका सभापति आलेले आज बिज्ञप्ति मार्फत उक्त आग्रह गरेका हुन् ।उक्त बिज्ञप्ति मार्फत उनले पार्टीमा बिगत लामो समयसम्म महत्त्वपूर्ण योगदान पुर्याउनु हुने साथीहरुले उम्मेदवार बन्ने आकांक्षा राख्नु स्वाभाविक हो। आकांक्षा अनुरुप टिकट उपलब्ध गराउन नसकेका कारण असन्तुष्टि जनाउदै केहि स्थानमा स्वतन्त्र उम्मेदवारी दिईएको तर्फ नेपाली काँग्रेस तनहुँको गम्भीर ध्यानाकर्षण भएको समेत बिज्ञप्ति उल्लेख छ ।
यस विषम परिस्थितिमा पार्टी प्रतिको निष्ठालाई मनन गर्दै आ-आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिई पार्टीका उम्मेदवारहरुलाई सहयोग गर्न समेत अपिल गरको छ। साथै आगामी दिनमा योगदानको उचित मूल्यांकन गरिने समेत जनाएको छ।
नेपाली कांग्रेसले केन्द्रीय समितिले स्थानीय तहको निर्वाचनमा आधिकारिक उम्मेदवार विरूद्ध स्वतन्त्र उम्मेदवारी दिने नेता तथा कार्यकर्तालाई नेपाली कांग्रेसले कारबाही गर्ने चेतावनी दिईसकेको छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी विज्ञप्ति गर्दै यदी कसैले आधिकारीक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको भए शुक्रबार साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिएर आधिकारीक उम्मेदवारलाई जिताउन सहयोग गर्न पनि पार्टीले निर्देशन दिएको उल्लेख गरेको हो ।
‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने व्यहोरा समेतको चेतावनी दिएको छ।
वैशाख १६ गते शुक्रबार साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिइएको छ ।
देशका विभिन्न पालिकामा कांग्रेसका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी परेपछि पार्टीले शुक्रबार यस्तो निर्देशन दिएको हो । कांग्रेसले यसअघि डडेलधुरामा आधिकारीक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिने कर्ण बहादुर मल्ललाई कारबाही गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?