
दमौली : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता भएको बताए । शनिबार सत्तारुढ गठबन्धनले दमौलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् ।
गठबन्धनको विरुद्धमा रहेका तत्वहरुलाई स्थानीय तहको मैदानबाटै जवाफ दिनुपर्ने प्रधानमन्त्री देउवाले बताए ।उनले भने ‘गठबन्धन सफल पारेर छोड्नुपर्छ, हामि सफल बनाउछौं ।’
प्रधानमन्त्री देउवाले यो गठबन्धनलाई टिकाएर लैजान निर्वाचनमा सबैले गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताए। उनले नेपाली कांग्रेसको महाधिवेशनले नै वर्तमान अवस्थामा गठबन्धन आवश्यक रहेको र यसलाई बलियो बनाएर चुनावमा जाने निर्णय गरेको धारणा पनि राखे।
उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विपक्षी राजनीतिक दलहरूले सरकारका कामको विरोध जनाउन बित्तिकै संसद भंग गर्ने गरेकाले उक्त कदमलाई रोक्नकै लागि गठबन्धन बनाएको स्पष्ट पारे।
उनले अहिले कुनै पनि पार्टीको एकल सरकार बन्ने अवस्थाः नरहेको उल्लेख गर्दै संसदमा कसैको पनि बहुमत नरहेकाले पनि गठबन्धन आवश्यक रहेको बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?