दमौली :तनहुँमा स्थानीय तह निर्वाचनको मतदानको दिन वैशाख ३० गते सवारी अनुमति पत्र बाेकेका गाडीहरु मात्र गुड्न पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँले सोमवर विज्ञप्ति जारी गर्दै सवारी साधान चलाउन अनुमति पत्र (पास) लिएकोले मात्र पाउने बताएका छन् ।
मतदानको दिन मतदातालाई सवारी साधन प्रयोग गरी ओसारपसार गर्न पाइँदैन । तर निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त गाडीहरु भने गुडाउन पाइन्छ । उम्मेदवार र उम्मेदवारका प्रतिनिधिलाई भने मुख्य निर्वाचन अधिकृतको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट पास उपलब्ध गराइन्छ ।
अत्यावश्यक सेवाका एम्बुलेन्स, खानेपानीका ट्यांकर, दमकल, दूरसञ्चार, शववाहन, अस्पताल, विद्युत् तथा नीलो नम्बर प्लेट प्रयोग भएको कूटनीतिज्ञहरुको गाडीहरुलाई भने सवारी पासको अनुमति लिनुपर्दैन ।
अन्य सरकारी कार्यालय र निजी कार्यालहरूलाई भने नियमन गर्ने निकायको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध गराउँछ ।
मतदानको दिन दुई पांग्रे वा चार पांग्रे सवारी साधन प्रयोग गर्ने पत्रकारहरुले पनि सूचना विभागको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने तनहुँ प्रशासनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?