दमौली : तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड बेलुका ७ बजेदेखि बन्द गरिने भएको छ । आँबुखैरेनी–४ पावर हाउस नजिक बिहान सडक भासिएपछि बन्द भएको सडक खण्ड मर्मतका लागि बेलुका ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म बन्द गर्न लागिएको हो ।
बिहान सडक भासिएपछि यस खण्डमा साना गाडी मात्रै सञ्चालन भइरहेका छन् । सडक भासिएको ठाउँमा भित्तापट्टी सडक खन्न थालिएको छ । रातिको समयमा जोखिम सडक भासिएपछि बिहानैदेखि अलपत्र सर्वसाधारणलाई पैदल हुँदै वारपार गराइएको छ ।
यसैबीच गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विकले यस खण्डको आजै निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री विकले छिटो काम सकेर यातायात सञ्चालनमा सहजता ल्याउन निर्देशन दिए।
सडक भासिएर यस ठाउँबाट कार र मोटरसाइकल खस्दा दुई जनाको ज्यान गएको छ । ज्यान गुमाएकामध्ये एक जनाको सनाखत भएको छ भने अर्का व्यक्तिको सनाखत नभएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । गोरखा घर भइ आँबुखैरेनी २ बस्ने ३५ वर्षीय केशव घिमिरे र अर्को हेटौँडा उपमहानगरपालिकाको सनाखत भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?