चितुवाको आक्रमणबाट बन्दीपुरका एक बालकको मृत्यु

दमौली : तनहुँको बन्दीपुर गाउँपालिका–१ बोडीस्वाँरामा चितुवाको आक्रमणबाट मङ्गलबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच वर्षीय सुपिम बगाले मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घरको आँगनमा खेलिरहेको अवस्थामा बालक चितुवाको आक्रमणमा परेका हुन् । चितुवाको आक्रमणबाट परेका बालकको शव घरभन्दा दुई सय मिटर माथि छपेली सामुदायिक वनको जङ्गलमा फेला परेको बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए ।

प्रेम बगालेका छोरा सुप्रिमलाई घरमै आएर चितुवाले आक्रमण गरेको वडाध्यक्ष  श्रेष्ठले बताए ।

‘आँगनमा दिदीभाई खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरेर लगेको हो । घरभन्दा दुई सय मिटर माथि छापेली सामुदायिक वनमा बालकको शव भेटिएको छ’, उनले  भने । आधा घण्टापछि बालकको शव भेटिएको हो ।

सो क्षेत्रमा शनिबार राती र आइतबार बिहान पनि चितुवाको आक्रमण परी दुई जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?