दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै रोजगारी र आम्दानी सिर्जना हुने योजना बनाउनुपर्ने बताएका छन् ।
व्यास नगरपालिकाले आज आयोजना गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट, नीति तथा कार्यक्रम तर्जुमासम्बन्धी अन्तर्क्रियामा पौडेलले गाउँमा रोजगारी र गाउँमै आम्दानी हुने योजना बनाएर जनतालाई गाउँमै बसुँबसुँ लाग्ने वातावरण बनाउनेतर्फ स्थानीय तहको ध्यान जानुपर्ने बताए ।
वरिष्ठ नेता पौडेलले गाउँमा रोजगारीको अवसर सिर्जना हुने खालका योजना स्थानीय तहले ल्याउनुपर्ने भन्दै त्यसो भएको खण्डमा मानिस पुनः गाउँमै फर्किने बताए । उनले गाउँमा जडीबुटी, फलफूल उद्योग खोल्न सकिने भन्दै त्यसका लागि नगरपालिकाले सहयोग गर्नुपर्ने बताए ।
गाउँमै बाटो, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत् पुगेपनि रोजगारी र आम्दानी नपुगेकाले मानिस गाउँबाट भागिरहेको उल्लेख गर्दै पौडेलले भने, “पहिला-पहिला गाउँमा केही सुविधा थिएन, तर अहिले गाउँमा सबै सुविधा पुगिसक्यो, तर रोजगारी पुग्न सकिरहेको छैन । त्यही कारण मानिस गाउँ छाडेर सहर झरेका छन् ।”
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सबै वडा र हरेक वर्गका फरक फरक आवश्यकता रहे पनि बजेटको सीमाभित्र रहेर योजना बनाउनुपर्ने बाध्यता रहेको भन्दै उनले आवधिक योजना, त्रिवर्षीय योजनामा रहेर नगरपालिकाले नीति तथा कार्यक्रम बनाइने उल्लेख गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?