दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्यको तनहुँ क्षेत्र नं १ का उम्मेदवार रामचन्द्र पौडेलले नमूना तनहुँ बनाउने सपना रहेको बताएका छन् ।
व्यास नगरपालिका–११ तनहुँसुरमा आज आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले वेदव्यासको जन्मस्थानमा १०८ फिट अग्लो निर्माणाधीन व्यास मूर्ति निर्माण गरेर यस क्षेत्रमा लाखौँ हिन्दूहरुको आकर्षक तीर्थस्थलको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
“पर्यटकीय नमुना बनाउनका लागि धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनलाई विशेष प्राथामिकतामा राखिएको छ,” उनले भने, “यस निर्वाचन क्षेत्रमा रहेका ठुला धार्मिकस्थल, भानु साहित्य उद्यान, गिरिजाप्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण सम्पन्न गरिनेछ ।”
कृषि, पर्यटन र ऊर्जाशक्तिको विकास गरेर उद्योग ग्राम र औद्योगिक क्षेत्रको स्थापना गराई, लगानी भित्र्याएर गाउँगाउँमा साना–ठुला कृषिजन्य र अन्य उद्योग स्थापना गराई स्वदेशमै रोजगारी तथा गाउँगाउँमा आम्दानीको अवसर सिर्जना गर्न आफ्नो उमेदवारी रहेको बताए । ठूला परियोजना सम्पन्न भएपछि यस क्षेत्रको विकासमा कायापलट हुने उनले बताए ।
बुद्धसिंह मार्ग, भानु मार्ग, व्यास मार्गमालगायत सडकमा कालोपत्रे गर्न बाँकी भागमा कालोपत्रे गरिने नेता पौडेलले बताए ।
उनले अव्यवस्थित बसोबासीलाई चाडै नै लालपूर्जा प्रदान गर्ने योजना रहेको पनि बताए । गठबन्धन मुलुकलाई अग्रमनतिर लैजान गरिएको बताउँदै नेता पौडेलले प्रतिगामीलाई परास्त गर्न, सहिद तथा सपूतको बलिदानी, त्याग, तपस्यालाई साकार पार्न गठबन्धन गरिएको स्पष्ट पारे । रासस
तस्बिर फाइल











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?