दोस्रो सेमिफाइनल खेल फ्रान्स र मोरक्को बीच हुदै

काठमाडौं : कतारमा जारी विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा बुधबार साविक विजेता फ्रान्सले महादेशीय कीर्तिमान बनाएको अफ्रिकी टोली मोरक्कोसँग खेल्दैछ ।

नेपाली समयअनुसार राति पौने १ बजे सुरू हुने खेलमा दुवै टोली ऐतिहासिक सफलता प्राप्त गर्ने प्रयासमा रहनेछन् । क्वाटरफाइनलमा पोर्चुगललाई पराजित गरेर अगाडि बढेको मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टोली हो । यस्तै फ्रान्सलाई उपाधि रक्षाको अभियान कायम राख्न यो खेल जित्नुपर्नेछ ।

यस खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएर उपाधि नजिक पुगिसकेको छ।

फ्रान्स आज मोरक्कोलाई हराएर लगातार दोस्रो पटक विश्वकपको फाइनल खेल्न चाहन्छ । फ्रान्सले क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २-१ ले हराएको थियो ।

यता, मोरक्को पहिलो पटक सेमिफाइनलमा पुगेको हो । मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र हो । फ्रान्सलाई हराएर मोरक्को फाइनल पुग्दै अर्को इतिहास बनाउन चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?