घाँसीकुवामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

दमौली|  तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवास्थित पृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।

डुम्रेबाट दमौलीतर्फ सिमेन्ट बोकेर आउँदै गरेको लु २ ख १५४ नम्बरको ट्रक सोमबार दिउँसो करिब १२:०५ बजे चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनामा धादिङको सिद्धलेक गाउँपालिका–६ निवासी करिब ३० वर्षीय चालक सञ्जीव मगर र सोही स्थानका २२ वर्षीय सहचालक प्रदीप विक घाइते भएका थिए।

घाइते दुवै जनालाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएकोमा चालक मगरलाई दिउँसो १२:४५ बजे चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।

उनका अनुसार सहचालक विकको शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ।

दुर्घटनापछि ट्रक घटनास्थलमै रहेको र निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाका कारण पृथ्वी राजमार्गको यातायात भने अवरुद्ध नभएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?