तनहुँमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु, ६ जना घाइते

दमौली। तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।

प्रहरीका अनुसार सोमबार साँझ ५ः४५ बजे बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग २ च ३२६९ नम्बरको बोलेरो जिप उकालो सडकमा ब्याक हुने क्रममा सडकको किनारबाट करिब सात मिटर तल नालीमा खसेको थियो।

दुर्घटनामा जिपमा सवार आठ जनामध्ये सात जना घाइते भएका थिए। घाइतेमध्ये आँबुखैरेनी गाउँपालिका–६ खापस्वारा निवासी ४७ वर्षीया इन्द्रमाया गुरुङको उपचारका क्रममा मृत्यु भएको हो। उनलाई साँझ ६ः२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा सोही स्थानका ४९ वर्षीय तोकबहादुर गुरुङ, २१ वर्षीया भारती गुरुङ, १४ वर्षीया अम्बिका गुरुङ, ६९ वर्षीय बकुलाल गुरुङ, ३५ वर्षीय सानोकान्छा गुरुङ र १६ वर्षीया रिश्मा गुरुङ घाइते भएका छन्। घाइते सबैको आँबुखैरेनी अस्पताल, तनहुँमा उपचार भइरहेको छ।

घटनापछि प्रहरीले जिप चालक आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्क निवासी ३३ वर्षीय लक्ष्मण गुरुङलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?