दमौली : तनहुँमा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा धाउन थालेका छन् ।
आयुर्वेद औषधिमा विश्वास कम गर्ने र मेडिकल तथा अन्य अस्पतालमा सेवा लिन धाउने बिरामी हिजोआज आयुर्वेद औषधालयमा सेवा लिने गरेको पाइएको छ ।
विश्वको सबैभन्दा पुरानो चिकित्सा पद्धतिका रुपमा रहेको आयुर्वेद चिकित्सा पद्धति मानिन्छ । यसले गर्दा पनि पछिल्लो समय आयुर्वेद उपचारमा धेरैको आकर्षण बढ्दो छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले समय–समयमा स्थानीय तहका ग्रामीण क्षेत्रका बासिन्दालाई निःशुल्क स्वास्थ्य शिविरमार्फत सेवा दिँदै आएको केन्द्रका प्रमुख डा. रामप्रवोध मण्डलले जानकारी दिए। उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ७३ हजार ५ सय १४ जनाले उपचार लिएका छन्।
स्वर बसेका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका, दम, बाथ, हाडजोर्नी, ग्याष्ट्रिक, प्रसूति, बमनथेरापीलगायत सेवा लिन अहिले पनि स्वास्थ्य केन्द्रमा भीड नै लाग्ने गरेको छ। आव २०७७/७८ मा ५५ हजार ८ सय ४२ जनाले उपचार लिएको सो कार्यालयले जनाएको छ।
आयुर्वेद औषधालयमा सेवा लिन आउनेमध्ये अधिकांश बिरामी पेटसम्बन्धी समस्या लिएर आउने गरेका छन् । गाउँघरमा पाइने बहुमूल्य वानस्पतिबाट तयार पारिएको आयुर्वेद औषधिको सेवन स्वास्थ्यका लागि फाइदाजनक भएकाले नियमित रुपमा सेवन गरिरहेको केन्द्रका प्रमुख डा. मण्डल बताउँछन् ।
“एउटा रोगको आयुर्वेदको औषधि खाएपछि अर्को रोग भएमा पनि त्यसले कुनै असर नगर्ने र नियमित आयुर्वेद औषधि प्रयोग गर्न थालेपछि मज्जाले खाना खान रुच्ने, शरीर नै स्वस्थ बनेको छ,” उनले भने ।
सरकारको विभागबाट सिफारिस गरिएका ९५ प्रकारका औषधिमध्ये आयुर्वेद औषधालयबाट २३ प्रकारका औषधि पाइन्छ । यो सबै आयुर्वेद स्वास्थ्य संस्थामा नियमित उपलब्ध छ । नियमित रुपमा आयुर्वेदको औषधि खान थालेपछि पेट दुख्ने, खान अरुचि हुने जस्ता विभिन्न समस्या सबै निको भएको बताउँछन्, मथुरा रेग्मी । उनले आयुर्वेद औषधालयबाट अहिले नियमित रुपमा औषधि उपचार सेवा लिँदै आएका छन् ।
उनका अनुसार यस कार्यक्रममा नागरिकको उत्साहजनक उपस्थिति छ भने आयुर्वेद सेवा लिने बढेका छन् । “पहिले आयुर्वेद औषधि उपचार कमैले गराउने गर्थे भने पछिल्ला वर्षमा आयुर्वेद औषधि उपचारमा सेवा लिने बढ्दो रहेको छ, पेट, ग्याष्ट्रिक, खाना मन नलाग्ने, गानोगोला जस्ता समस्या लिएर बिरामीहरु अस्पतालमा आउने गरेका छन्,” प्रमुख डा. मण्डलले भने ।
नियमित रुपमा आयुर्वेद औषधि सेवन गर्ने बिरामी बढिरहेका छन् । पाखनबेद, तुलसी, बेल, यार्सागुम्बा, टिमुर, ज्वानो, लसुन, हर्रोबर्रो, अमला, सिलाजित लगायतका विभिन्न वानस्पति वस्तुहरु मिसाएर बनाइएको औषधि स्वास्थ्यका लागि हित मानिन्छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?