गण्डकीका मुख्यमन्त्री पाण्डेले २१ वैशाखमा विश्वासको मत लिने

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २१ वैशाखमा विश्वासको मत लिने भएका छन् । अनलाइनखबरसँगको कुराकानीमा मुख्यमन्त्री पाण्डेले २१ गते दिउँसो २ बजे आफूले विश्वासको मत लिने बताए ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले २१ वैशाखमा प्रदेशसभा अधिवेशन बोलाउन प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष सिफारिस गरेको थियो । उक्त सिफारिस अनुसार प्रदेश प्रमुख गुरुङले २१ वैशाखको दिउँसो २ बजे प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।

१४ वैशाखमा मुख्यमन्त्री नियुक्त नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेले १५ वैशाखमा शपथ ग्रहण गर्नुका साथै २ जना मन्त्री नियुक्त गरेका छन् ।

पाण्डेले कांग्रेसका २७, नेकपा माओवादीका ७ र एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ ‘दीपक मनाङे’ले समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । सोही आधारमा प्रदेश प्रमुख गुरुङले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?