कार्यकारी सम्पादक बस्नेतलाई ‘सूर्यभक्त पतना देवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार

दमौली : राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी सम्पादक एवम् प्रदेश तथा जिल्ला ब्यूरो प्रमुख सूर्यचन्द्र बस्नेतलाई ‘सूर्यभक्त पतना देवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको छ ।

नेपाल प्रेस युनियन नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुर शाखाका अध्यक्ष वीरेन्द्र पराजुलीले कार्यकारी सम्पादक बस्नेतलाई बिहीबार सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जानकारी दिए।  पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

प्रजातन्त्र सेनानी एवम् नेपाली कांगे्रसका नेता सूर्यभक्त अधिकारी र उनकी धर्मपत्नी पतना देवी अधिकारीको स्मृतिमा उक्त पुरस्कारको स्थापना गरिएको हो । उनका छोरा तथा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले सो पुरस्कार स्थापना गरेका हुन् । आगामी जेठ ५ गते नेपाल प्रेस युनियन नवलपुर जिल्ला शाखाको ११औँ अधिवेशनका अवसरमा उक्त पुरस्कार प्रदान गरिने छ ।

राष्टिय समाचार समिति (रासस) का कार्यकारी सम्पादक तथा प्रदेश तथा जिल्ला ब्यूरो प्रमुख सूर्यचन्द्र बस्नेत त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक तथा पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर हुन् ।

यसअघि राससको प्रमुख समाचारदाता र राससको वोर्ड सदस्य भएका बस्नेत साढे दुई दशकदेखि राससमा आवद्ध छन् । नेपाल प्रेस इन्स्टिच्यूटबाट दश महिने पत्रकारिता तालिम लिएका उनी हाल सेफर्ड कलेज बानेश्वर काठमाडौमा पत्रकारिता विषय पढाउँछन् भने पूर्वाञ्चल विश्वविद्यालय कला संकाय अन्र्तगत आमसञ्चार तथा पत्रकारिता विषयगत समितिको सदस्यका रुपमा कार्यरत छन्। यस अघि उनले सुप्रिम कलेज सामाखुशीमा पत्रकारिता विषय पढाएका थिए ।

राष्ट्रपुकार साप्ताहिकको तनहुँ संवाददाताका रुपमा झण्डै तीन दशक अघि पत्रकारिता सुरु गरेका उनले नेपाल समाचारपत्र, हिमालय टाईम्स, आदर्श समाज दैनिक, घटना र विचार साप्ताहिक, नेपालवाणि साप्ताहिकको जिल्ला संवाददता र तनहुँ आवाजको उपसम्पादक एवम् नवव्यासवाणी साप्ताहिकको सम्पादक भएर काम गरे ।

नेपाल पत्रकार महासंघ रासस शाखाको सभापति र प्रेस युनियन तनहुँका सभापति रहिसकेका बस्नेतले इन्टरनेट युगमा समाचार समितिको औचित्य विषयमा शोधग्रन्ध लेखेका छन्। रासस पत्रकारिता पुरस्कार, पोखरा रोयल सहकारी क्षेत्रीय पत्रकारिता पुरस्कार, आरसी कृषि पत्रकारिता पुरस्कार, जीपी कोइराला सक्रिय पत्रकारिता पुरस्कारलगायतबाट उनी यसअघि पुरस्कृत भएका छन् ।

यसैगरी सोही पुरस्कार नेपाल टेलिभिजनका अध्यक्ष एवम् नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय अध्यक्ष समिरजङ्ग शाह, बिबीसी नेपाली सेवाका ईश्वर जोशी र डा भूमिराज चापागाईँलाई समेत प्रदान गरिने प्रेस युनियनका जिल्ला सचिव खगराज सापकोटाले जानकारी दिए।

यसअघि सो पुरस्कारबाट नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष किशोर नेपाल, राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष एवम् नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्षय धर्मेन्द्र झा, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सचिव रामजी दाहाल, नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्ले र पूर्व महासचिव पोषण केसीलगायत पत्रकार सम्मानित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?