काठमाडौं : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा पाँच दिनसम्म तातो हावा (लू) को सम्भावना रहेकाले सतर्कता अपनाउन सुझाव दिएको छ।
लू चल्नका लागि लगातार पाँच दिनसमम सामान्यभन्दा ४० डिग्रीभन्दा माथि ताफत्रम बढेमा लू चलेको मानिन्छ। वर्षा नहुँदा सुक्खापन चलेकाले तापक्रम बढेर लू चलेको बताइएको छ । साथै पहाडी भू–भागका उपत्यका तथा खोंचहरूमा समेत तापक्रम क्रमिकरूपमा बढ्नसक्ने सम्भावना रहेकाले महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानबारे अद्यावधिक रहन पनि महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका अनुसार विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ । काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र देशको तराई भू–भागमा, मुख्यतयाः मध्यतराई र आसपासमा अधिकतम तापक्रत्र ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको छ।
लूबाट हुने सम्भावित असर जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोश हुने, मांसपेसी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न आग्रह गरिएको छ।
लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने , घाममा हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या आएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही सल्लाह–सुझाव लिने गर्न पनि महाशाखाले सुझाएको छ ।
मंगलबार काठमाडौँको न्यूनतम तापक्रम १८.८ र अधिकतम तापक्रम २९.५ डिग्री सेल्सियस छ









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?