काठमाडौं : छात्रवृत्तिका लागि काठमाडौं महानगरपालिकामा ८ दिनको अवधिमा एक हजार ८३ जनाको आवेदन दर्ता भएको छ।
काठमाडौं महानगरपालिकाले असार २८ गते बिहान १० बजेबाट खुला गरेको आवेदनमा साउन ४ गते अपराह्न ०३:३० बजेसम्ममा यो संख्या देखिएको हो। यसमा सबैभन्दा धेरै आवेदक विज्ञान विषयका छात्र ५४९ जना र छात्रा २२७ जना छन्।
दोस्रोमा व्यवस्थापन विषयका लागि २३९ जना छन्। यसमा छात्रको संख्या १४८ जना र छात्राको संख्या ९१ जना छ। प्राविधिक विषयका लागि २४ जना छात्र र १७ जना छात्रा गरी ४१ जना, कानुन विषयका लागि १६ जना छात्रा र ७ जना छात्र गरी २३ जना, मानविकीमा १ जना छात्र र १ जना छात्रा तथा शिक्षामा १ जना छात्र र १ जना छात्राको आवेदन परेको छ।
कक्षा ११ का लागि करिब ४ हजार २ सय सिटमा छात्रवृत्ति उपलब्ध गराउन सकिने प्रारम्भिक अवस्थाबाट देखिएको छ। शिक्षा विभागका प्रमुख सीताराम कोइराला भन्छन्, ‘हामी साउन महिनाको दोस्रो हप्ताको अन्त्यसम्ममा कुन उच्च माध्यमिक विद्यालयमा कति संख्यामा छात्रवृत्ति प्राप्त हुन्छ। विवरण सार्वजनिक गर्नेछौं।’
विद्यालयहरुबाट चारित्रिक प्रमाण पत्र दिन कुनै न कुनै कारणले ढिला भएकोले आवेदन दिन कठिन भएको गुनासो आएपछि अब चारित्रिक प्रमाण पत्र विना पनि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको कोइरालाको भनाइ छ।
विद्यार्थीहरुले साउन १२ गते राती ११ बजेर ५९ मिनेटसम्म आवेदन दर्ता गराउन सक्नेछन्।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?