दमौली : ४१ औं विपी स्मृति दिवसको उपलक्ष्यमा शनिबार दमौलीमा विविध कार्यक्रम गरी मनाइएकाे छ । कार्यक्रममा विपी योगदान र महिमालाई व्यवहारोन्मुख बनाउन वक्ताहरुले जोड दिएका छन् ।
नेपाली कांग्रेस तनहुँका निवर्तमान सभापति तथा व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले विपी कोइरालाबाट राजनीतिक यात्रामा सिद्धान्त, इमान र अडानको लागि कहिल्यै झुक्नु हुँदैन भन्ने प्रेरणा प्राप्त हुने बताए ।
विपीको आदर्श र मागदर्शनलाई भुल्न नहुने उल्लेख गर्दै संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राष्ट्र निर्माणमा विपिको विचार अहिले पनि सान्दर्भिक रहेको प्रमुख न्यौपानेले बताए । मौलिक हक अधिकारको प्रत्याभूत नभएको , अदालत सवल नभएको अवस्थामा बीपीले कानुनी शासन र संविधानबादको मूल्य मान्यताको स्थापित गर्न प्रयत्न गर्नु भएको काम सबैको लागि प्रेरणको स्रोत भएको न्यौपानेले बताए । बिपीले अंगालेकाे मित्रता र सद्भाव आज झन् महत्व बढेको उहाँको भनाई थियो ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ (क) का सभापति काजीमान श्रेष्ठ, नेपाल तरुण दल तनहुँका सभापति हिरा थापा, व्यास लगायतले बीपीले देखाएको बाटो नहिड्ने हो भने कांग्रेस कमजोर हुँदै जाने बताए ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइराला २०१६ जेठमा प्रधानमन्त्री बनेका थिए । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवम् ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चस्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छन् ।
३२ वर्षको उमेरमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरी राणाविरुद्व क्रान्तिको सुत्रपात गरेका बिपी काेइरालाकाे क्यान्सर रोगका कारण २०३९ साउन ६ गते निधन भएको थियो ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?