चितवन : आइतबार बुटवलदेखि यात्रु बोकेर आएका चालक अमित पौडेल काठमाडौं पुग्न हतारिएका थिए। दिउँसो सवा ३ बजे पुल्चोक निस्केका पौडेललाई नारायणगढ–मुग्लिन सडक बन्द हुने हो कि भन्ने मुख्य चिन्ता थियो।
संघीय राजधानीलाई देशको पूर्व र पश्चिम भेगसँग भेग जोड्ने मुख्य मार्ग नारायणगढ–मुग्लिन सडकमा हरेक वर्ष बर्खामा पहिरोका कारण यात्रुले सास्ती खेप्नुपरेको छ । यसपालि जेठ २० गते जान सुरु गरेको पहिरो १९ पटकसम्म खसिसकेको छ।
यो अवधिमा ९० घन्टा सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ। देशभरका राजमार्गमा १३९ पटक पहिरो जाँदा नारायणगढ–मुग्लिन सडकमा मात्रै १९ पटक गएको हो। बढीमा तीन दिनसम्म ट्राफिक अवरोध हुनेगरी पहिरो खसेको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले बताए।
यसपालि विशेष गरेर तुइन खोला, १८ किलो, मौरी पुलमा नियमितजस्तै पहिरो खसिरहेको उनले जानकारी दिए। यो अवधिमा कालिकाखोलामा सातपटकसम्म पहिरो खसेर सडक अवरुद्ध भएको छ।
त्यस्तै तुइन खोलामा पाँच, नाम्सी खोलामा दुई, १८ किलोमा तीन पटकसम्म पहिरो खसेर सडक अवरुद्ध हुन पुगेको इन्जिनियर कार्की बताउँछन्। तीमध्ये नाम्सी खोलामा असार १४, १५ र १६ गते लगातार पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। यो समाचारको आजको नागरिक दैनिकमा छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?